Monday, October 19News That Matters

५२ करोड लेनदेनकोझुटो आरोपमा दुर्गा प्रसाईंलाई कारबाही गर्न साइबर अपराधमा पत्राचार

निर्वाचन आयोगले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । आयोगका बारेमा मिथ्या तथा भ्रामक सूचना फैलाएको भन्दै आवश्यक कारबाहीका लागि आइतबार पत्र पठाइएको हो ।

शनिबार आयोजित एक पत्रकार सम्मेलनमा प्रसाईंले गगनकुमार थापा नेतृतको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिंदा ५२ करोड रुपैयाँको लेनदेन भएको दाबीसहितको अपुष्ट भिडिओ सार्वजनिक गरेका थिए । सोही भिडिओ र प्रसाईंको भनाइलाई आधार बनाएर विभिन्न सामाजिक सञ्जालका पेजले भ्रामक सामग्री पोस्ट गरेपछि आयोगले कानुनी कदम चालेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले संस्थाको गरिमामा आँच पुऱ्याउने गरी गलत सूचना प्रवाह गरिएकाले कारबाहीका लागि आग्रह गरिएको जानकारी दिए । “आयोगका विषयमा मिथ्या सूचना फैलाइएकाले हामीले साइबर ब्युरोलाई आवश्यक कारबाहीका लागि पत्र पठाएका छौँ,” प्रवक्ता भट्टराईले भने ।

प्रसाईंले सार्वजनिक गरेको उक्त भिडिओको सत्यता पुष्टि नभएको र यसले संवैधानिक निकायको छविमा गम्भीर असर पुऱ्याएको आयोगको ठहर छ । यसअघि पनि प्रसाईं विभिन्न विवादास्पद अभिव्यक्तिका कारण चर्चा र विवादमा रहँदै आएका छन् । साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीलेब्युरोमा पत्र आएको पुष्टि गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *