
सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंक शाखा लुटपाटको योजना लुटेराहरूले गत असोजमै बनाएको र दुई पटक असफल भएपछि तेस्रो प्रयासमा लुट सफल भएको खुलेको छ। बैंक बसेको घरका घरधनीकै सहयोगमा योजना बनाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार लुटेराहरू पुष २३ गते भाडाका मोटरसाइकल लिएर बैंक पुगे पनि लुट असफल भएपछि फर्किएका थिए। पुष २९ गते घरधनीकै डिजाइन अनुसार बैंक प्रवेश गरी सुरक्षा गार्ड र कर्मचारीलाई बाँधेर, मुखमा टेप टाँसी नक्कली पेस्तोल देखाउँदै लुटपाट गरिएको थियो। लुटपछि घाइते अवस्थाका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।
घटनापछि प्रहरीले बन्धक बनाइएका कर्मचारीको उद्धार गरी घाइते गार्ड रुद्र कार्कीको उपचार गराएको थियो। ५० जनाको प्रहरी टोलीले सर्च अपरेशनका क्रममा घटनास्थलबाट दुई किलोमिटर पूर्व लिपिखोलामा लुटमा प्रयोग गरिएको टाटा सुमो र चालक भगवत सिंह थापालाई नियन्त्रणमा लिएको थियो। जंगल क्षेत्रमा खोजी गर्दा लुटिएको रकम पनि फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले बैंक बसेको घरका घरधनी छविलाल स्याङ्तानलाई मुख्य योजनाकारका रूपमा पक्राउ गरेको छ। यसका साथै सुमो चालक भगवत सिंह थापा, चतुरमान बज्यु, सशांक श्रेष्ठ, निरन गिरी, विवेक थापा र एक नाबालकसहितका अभियुक्तलाई नियन्त्रणमा लिइएको छ। लुटमा प्रयोग भएका खुकुरी, नक्कली पेस्तोल, मोबाइल, नकाबलगायत सामग्री बरामद गरिएको छ भने पक्राउ परेकामाथि पुष २९ गतेदेखि लागू हुने गरी ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।