
नेपाली महिला क्रिकेट टिमकी पूर्वकप्तान रुबिना क्षेत्रीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गर्नुभएको छ । बिहीबार नेदरल्यान्ड्सविरुद्ध भएको खेलमा अविजित ३७ रन बनाउँदै उहाँले उक्त उपलब्धि हासिल गर्नुभएको हो ।
तर व्यक्तिगत ऐतिहासिक कीर्तिमान पूरा भए पनि रुबिनाको अनुहारमा खुशी देखिएन । कारण, नेदरल्यान्ड्ससँग नेपाल केवल २ रनले पराजित हुन पुग्यो । जित नजिक पुगेर नतिजा हातबाट फुत्किँदा निकै पीडा भएको रुबिनाले खेलपछि बताउनुभयो ।
१४१ रनको लक्ष्य पछ्याइरहेको नेपाललाई अन्तिम तीन ओभरमा ४४ रन आवश्यक थियो भने ३ विकेट मात्र बाँकी थिए । यस्तो अवस्थामा नेदरल्यान्ड्सजस्तो सशक्त टोलीविरुद्ध नेपाल जित नजिक पुग्ला भन्ने अपेक्षा कमैले गरेका थिए । तर यही कठिन परिस्थितिमा रुबिना क्षेत्री र सिता राना मगरले आठौँ विकेटका लागि उत्कृष्ट साझेदारी गर्दै नेपालको आशा जीवित राख्नुभयो ।
अठारौँ ओभरमा सिता राना मगरले ३ चौका र १ छक्का प्रहार गर्दै २० रन जोड्नुभयो । त्यसपछि १९औँ ओभरमा थप ११ रन आएपछि खेल रोमाञ्चक बन्g k’Uof] । अन्तिम ओभरमा नेपाललाई जितका लागि १३ रन चाहिएको थियो । अन्तिम बलमा ७ रन आवश्यक रहँदा रुबिनाले चौका प्रहार गर्नुभयो, तर दुर्भाग्यवश नेपाल २ रनले पराजित हुन पुग्यो ।
रुबिना ३७ र सिता २७ रनमा अविजित रहनुभयो । हारपछि मैदानमै रुबिना र सिता भावुक बनेको दृश्य पीडादायी देखिन्थ्यो ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गर्ने रुबिना दोस्रो नेपाली महिला खेलाडी हुनुहुन्छ । यसअघि इन्दु बर्माले सर्वाधिक १०५३ रन बनाएकी छन् । रुबिनापछि सिता राना मगर ६५ खेलमा ९९२ रनसहित १००० रन नजिक पुग्नुभएको छ ।