Monday, October 19News That Matters

ओलीले भने– भदौ २३ गते मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गएको भदौ २३ गते आफूले गोली चलाउने कुनै पनि आदेश नदिएको स्पष्ट पारेका छन् । बुधबार सामाजिक सञ्जालमा लेख्दै ओलीले आफू र नेकपा एमालेविरुद्ध फैलाइएको भ्रममा नपर्न आग्रह गरे ।

“केही दिनयता एउटा पक्षले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको छस मानौं प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको हो भन्नेजस्तो । यो कुरा पूर्ण रूपमा निराधार छ । हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश  दिन सोच्न पनि सक्दिनँ,” ओलीले लेखेका छन् । 

संसद् भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले आन्दोलन नभई राज्यविरुद्धको हमला मान्ने ओलीले स्पष्ट पारेका छन् । 

“संसद् भवनअघि आगो लगाउने प्रयास र विष्फोटक वस्तु प्रयोग भएपछि स्थितिलाई कानुनले “आन्दोलन” होइन, “राज्यविरुद्धको  हमला” मान्छ,” ओलीले लेखेका छन्, “संसद् भवनभित्र सुरक्षा फौजमाथि प्रत्यक्ष आक्रमण भएपछि गोली चल्यो, र त्यसपछि दुई घण्टासम्म भएका घटनाले हामी सबैलाई कहिल्यै नमेटिने घाउ दिएको छ ।”

आफू खुला रूपमा कुनै पनि मञ्चमा बसेर उत्तर दिन तयार रहेको ओलीले बताए । सामाजिक सञ्जालमा गरिएका गलत प्रचारमा नलाग्न आग्रह गरे । “१९ जना नानीबाबुको मृत्युप्रति म अत्यन्त मर्माहत छु,” उनले भने, “एउटा आग्रह गर्न चाहन्छु– माइतीघरको शान्तिपूर्ण प्रदर्शनबाट ती युवाहरूलाई संसदे् भवनजस्तो कानुनले बल प्रयोग गर्नैपर्ने ठाउँतर्फ कसले, किन र कसरी लग्यो ? यो प्रश्नको पनि जवाफ खोज्नुहोला ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *