पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ २२ गते ‘दैलेखमा ग्यास उत्खनन् गर्यौं, अब घर–घरमा पुर्याउँछौं’ भनेर फेसबुक स्टाटस लेखे । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिएका ओलीले म्याद सकिएको ग्यास राजनीतिलाई फेरि ब्युँताएकोमा सामाजिक सञ्जालमा ट्रोल बनाइएको छ । २५ हजार ५०० ले कमेन्ट गरेका अधिकांशले उनको उछितो काटेका छन् । ओलीले विकासका लागि सपना देख्नु, त्यसलाई साकार पार्नु र सोही अनुसार कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।
२०७२ सालमा पहिलोपटक प्रधानमन्त्री हुँदा नेपालमा छिमेकी देश भारतले अघोषित नाकाबन्दीले आम नागरिकको दैनिक जीवनशैली अस्तव्यत भएको थियो । निकै कष्टकर हुँदा समेत नाकाबन्दीसामु नझुकेका आम नागरिकको पक्षमा उभिएका कारण ओली राष्ट्रवादी नेताको रुपमा निकै लोकप्रिय भएका थिए ।
२०४८ सालदेखि लगातार झापा-५ बाट निर्वाचन लड्दै आएका ओली यसपटक काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन शाहले चुनौती दिएपछि तनावमा देखिन्छन् । देशको चार पटक प्रधानमन्त्री भएका ओलीले २०६४ को संविधानसभा सदस्य निर्वाचन बाहेक सबै चुनाव जितेका छन् । २०७४ सालमा संविधान विपरीत दुई–दुई पटक संसद विघटन गरेर अलोकप्रिय भएका उनी जेनजी नरसंहारका कारण चौतर्फी आलोचित छन् । विषम परिस्थितिमा हुन लागिरहेको यस निर्वाचन जित्नै पर्ने दबाबमा ओली छन् ।