
तेह्र वर्षकै सानो उमेरमा भलिबल खेलाडीका रूपमा आफूलाई स्थापित गरेपछि सिपोरा गुरुङका लागि पछाडि फर्कने कुनै बाटो रहेन। सैनिक परिवारमा जन्मिएकी गुरुङ आफ्नो बाल्यकाल निकै सक्रिय रहेको बताउँछिन् र सानैदेखि शारीरिक रूपमा तन्दुरुस्त रहेको कुरा आत्मविश्वासका साथ व्यक्त गर्छिन्।
एक खेलाडीका रूपमा सिपोराले आफ्ना टिमसँग मिलेर धेरै पदकहरू जितिन् र सानै उमेरदेखि नेपाली भलिबल समर्थकहरूमाझ पहिचान बनाइन्। उनले १३ वर्षको उमेरमै श्रीलंकामा सम्पन्न १०औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सबैभन्दा कान्छी खेलाडीका रूपमा सहभागिता जनाइन्। तर अठार वर्षको उमेरमा भलिबल खेलकै क्रममा घुँडामा गम्भीर चोट लागेपछि सिपोराको जीवन र दीर्घकालीन करिअरको दिशा परिवर्तन हुन थाल्यो।
भलिबलबाट टाढा रहनुपरेको त्यो समयलाई सदुपयोग गर्दै सिपोराले सन् २०१३ मा नेपालको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस नेपाल मा सहभागिता जनाइन्। उनले मिस नेपालमा सहभागी भएको खबर सुन्दा आफ्ना शुभेच्छुकहरू केही चिन्तित र आशंकित भएको अनुभव पनि साझा गर्छिन्। उक्त मिस नेपाल प्रतियोगितामा सिपोराले third runner up मा चित्त बुझाउनु परेको थियो ।
त्यसपछि उनले गुरुङ भाषाको चलचित्र ‘घालेक’मा अभिनय गरिन्, जसपछि ‘याम्फावती’ र ‘भुईँ मान्छे’ जस्ता चलचित्रहरूमा पनि देखिइन्। साथसाथै केहि म्युजिक भिडियोहरुमा पनि आफुलाई व्यस्त राखिन । खेलकुद होस् वा चलचित्र—सिपोराको जीवनमा ‘स्टार’ हुने संकेत स्पष्ट रूपमा लेखिएको देखिन्छ।
भौगोलिक रूपमा हाल नेपालबाट टाढा अमेरीकामा भए ता पनि सिपोरा गुरुङ अहिले भलिबल खेलिरहेका खेलाडी बैनीहरुलाई सहयोगहरु गरिरहेकी हुन्छिन् ।