
फुर्सदमा जति बेला पनि किताब पढ्ने रुचि । यही रुचिका कारण मोरङका तारा निधि रेग्मीले १४ वर्ष पहिला ‘किताब किरो’ नामक पुस्तक पसल सञ्चालनमा ल्याए ।
कोभिड १९ को महामारी ताका भने उनी पुस्तक पसललाई लिएर निकै निराश थिए । दिनभर दुई तीन हजारको पनि पुस्तक व्यापार हुन छाडेपछि पुस्तक व्यवसाय नै छाड्नु पर्ने हो कि भन्ने कुराले तनाव दिन्थ्यो ।
पुस्तक नबिक्नुको मुख्य कारण भने उनलाई टिकटकजस्ता सामाजिक सञ्जाल नै हुन् जस्तो लाग्थ्यो । उनी सुनाउँछन् “मानिसहरू मोबाइलमा स्क्रोल गरेर दिन बिताइ दिन्छन् । मोबाइल धेरै चलाउँदा मानिसहरूले किताब पढ्न छाडे भन्ने लाग्थ्यो । घरमा बच्चाहरूले टिकटक चलाएको देखेँ भने पनि गाली गरिदिन्थेँ ।”
एक दिन उनले ‘शिक्षक मासिक’ पत्रिकाका सम्पादक राजेन्द्र दाहाललाई पुस्तक व्यवसाय नचलेको गुनासो पोखे । यसको मुख्य दोषी सामाजिक सञ्जाल भएको उनले तर्क गरेका थिए । सम्पादक दाहालले भने प्रविधिको विकासका सकारात्मक र नकारात्मक दुवै पक्ष हुने भन्दै उनलाई सम्झाए । उनले सम्पादक दाहालले आफूलाई बुझाएका कुरा सम्झँदै भने, “संसारमा कागजको प्रयोगको सुरुवात हुँदा अरस्तु (एरिस्टोटल) ले पनि यसको विरोध गरेका थिए । मानिसहरूले कागजमा लेख्न थालेपछि याद गर्न छाड्छन् भन्ने उनको सोचाइ थियो । तर कागजको प्रयोग त रोकिएन । अहिले प्रविधि पनि त्यस्तै हो । यसलाई मन नपराउने र प्रयोग नगर्ने होइन । जसले प्रयोग गर्दैन, त्यो मानिस पछि पर्न सक्छ भनेर उहाँले मलाई भन्नुभयो ।”
दाहालको उक्त भनाइले रेग्मीलाई टिकटक एक्स्प्लोर गर्न मन लाग्यो । प्ले स्टोरबाट डाउनलोड गरेर टिकटक अकाउन्ट बनाए । अनि टिकटकमा स्क्रोल गर्न थाले । आफ्नो सुरुवाति अनुभव सुनाउँदै उनले भने, “महिलाहरूको भिडिओ र नग्नताले भरिएका कन्टेन्टहरूको बाढी थियो । तर यस्तै मात्र कन्टेन्ट हेर्ने दर्शकहरूमात्र पक्कै छैनन् होला भन्ने लाग्यो । त्यसपछि मैले पढ्न मन पराउनेहरूले हेर्न रुचाउने भिडिओ किन नबनाउने भनेर कन्टेन्ट बनाउन सुरु गरेँ ।”
सन् २०२१ को सुरुवातबाट ‘Kitab Kiro’ नामबाट टिकटकमा भिडिओ बनाउन थालेका उनको अकाउन्टमा हाल ८७ हजार फलोअर्स छन् । उक्त अकाउन्टबाट सार्वजनिक भएका पोस्टमा कूल १८ लाखभन्दा धेरै लाइक छन् । यस्तै फेसबुकमा पनि ‘Kitab Kiro’ नामकै पेजमा ३६ हजार बढी फलोअर्स छन् । उनले विभिन्न लेखकका किताबको बारेमा जानकारी, किताबका विशेषता, किताब किन पढ्ने लगायतका जानकारी दिने भिडिओ बनाएका छन् ।
रेग्मीले सबैभन्दा पहिला टिकटक भिडिओमा देखिएर खबुज नामक उपन्यासको बारेमा जानकारी दिँदै भिडिओ बनाए । खाडी मुलुकमा रोजगारीमा जाने मानिसहरूको कथा समेटिएको यो किताबको भिडिओ हेरेर धेरैले अर्डर समेत गर्न थाले ।
तर किताबको बारेमा बताउँदा भन्दा पनि पढ्ने बानीका विषयमा बनेका किताबहरू सामाजिक सञ्जालमा बढी रुचाउने गरेको उनको अनुभव छ । उनले भने, “पुस्तक पढ्ने मानिसहरूलाई कसरी चिन्न सकिन्छ भन्ने जानकारी सहितको दोस्रो भिडिओ बनाएँ । कोभिडको समयमा हाउ टु भन्ने खालको भिडिओ ट्रेन्डिङमा जाने समय थियो । यस्तै ट्रेन्डमा बनाउँदा मानिसहरूले रुचाउन थाले ।”
तेस्रो भिडिओ बनाउन थाल्दा एक हजार फलोअर्स कटिसकेको रेग्मी सुनाउँछन् । उनले भने, “हजार फलोअर्स कटेपछि त टिकटकमा पनि लाइभ बसेर भिडिओ बनाउन थालेँ । त्यहाँबाट अनलाइनमार्फत किताब अर्डर गर्ने क्रम पनि बढ्न थाल्यो ।”